लमजुङ् : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यकामा सिलिन्डरको युग समाप्त गर्ने घोषणा गरेका छन् । काठमाडौंको तीनकुनेमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन्।
ओलीले राजधानीलाई सिलिन्डरमुक्त क्षेत्र बनाउने र अब पाइपलाइनबाटै काठमाडौंका हरेक घरका चुल्हो- चुल्होमा ग्यास वितरण गर्ने योजनाको तयारी भइरहेको बताए।
ओलीले भने, ' ग्यासका सिलिन्डर काँधमा बोकेर, साइकल, मोटरसाइकल र गाडीमा राखेर अब हिडिरहनु पर्दैन। ग्यासका पाइपलाइन घरको चुल्होमै जोडिनेछ।'
ओलीले केही समयअघि हावाबाट बिजुली निकालेर एक वर्षभित्रै नेपाललाई झलमल पार्ने र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए।
‘काठमाडौं उपत्यकामा सिलिन्डर युगको समाप्त गर्छु', एमाले राजधानी विशेष समन्वय कमिटिको उपत्यकाव्यापी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘यहाँ निस्कने फोहरबाट ग्यास बनाएर पाइपबाट वितरण गर्छौं। सरकारले हरेक घरको चुल्होमा मिटर टाँसिदिन्छ, जति चाहिन्छ चलाउने दिन अब टाढा छैन ।’
हावाबाट बिजुली निकाल्न कुनै कठिनाइ नरहेको बताउँदै प्रम ओलीले अहिले पनि फर्पिङमा हावाबाटै बिजुली निकालेर गाउँ झलमल भएको उदाहरण दिए।
‘लोडसेडिङ एक वर्षमा समाप्त हुन्छ’, उनले भने, ‘लण्डनतिर उत्कृष्ट भएका मन्त्रीहरुले कुनै पनि विद्युत परियोजना अघि नबढाएकाले अहिले विद्युत माग भन्दा कम छ ।’
कांग्रेसका कारण जम्बो मन्त्रिमण्डल
भेलालाई सम्बोधन गर्दै प्रम ओलीले कांग्रेसलाई बोलाउँदा सरकारमा सहभागी नभएका कारण परिस्थितिले ठूलो मन्त्रिमण्डल बनाउनु परेको जिकिर गरे ।
‘जम्बो मन्त्रिमण्डल र ६ जना उपप्रधानमन्त्री बनाउनु हुँदैनथ्यो’, उनले भने, ‘अझै पनि केही बिग्रेको छैन । कांग्रेस सरकारमा आउने भए मन्त्रिमण्डल घटाउन सकिन्छ ।’
सबै दल मिलेर देशको विकास गर्नुपर्ने बताउँदै प्रम ओलीले मधेसी दललाई पनि आन्दोलन छाडेर सरकारमा आउन आह्वान गरे।
‘सबैजना सरकारमा आउनुस्, सबै मिलेर देश बनाउँ’, उनले भने, ‘मधेसी मोर्चा पनि सरकारमा आएर तराईको समस्या समाधान गरौं ।’