नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल ब्रान्ड बजाजले डिस्कभर १५० का दुईवटा नयाँ मोडेल डिस्कभर १५० एफ (हाफ फेरिङ भएको) र डिस्कभर १५० एस (स्ट्यान्डर्ड फेरिङ भएको) नेपाली बजारमा ल्याएको छ।
सीमित अवधिका लागि डिस्कभर १५० एफ (हाफ फेरिङ) को मूल्य एक लाख ९७ हजार नौ सय र डिस्कभर १५० एस (स्ट्यान्डर्ड फेरिङ) को मूल्य एक लाख ९० हजार नौ सय कायम गरिएको जनाइएको छ।
यी दुवै डिस्कभर १५० चार रङमा उपलब्ध हुने जनाइएको छ। डार्क ब्लु, वाइन रेड, इबोनी ब्ल्याक र डार्क बोटल ग्रिनमा छन्। मोटरसाइकलको कम्युटर सेग्मेन्टमा नयाँ आयाम थप्न डिस्कभर १५० डिजाइन गरिएको छ।
यी बाइकले ग्राहकलाई नयाँ जोश र नयाँ अनुभूति प्रदान गर्नेछन्। डिस्कभर बाइकका मोडेल सन् २००४ मा लन्च भएदेखि नै आफ्नो आधुनिक एवं पृथक् डिजाइन र उत्कृष्ट प्रस्तुतिका लागि परिचित छन्।
एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले नयाँ ल्याइएका मोडेलमा रहेको एड्भान्स ४ भल्भ १५० सीसी डिटियस आई इन्जिनले दिने १४.५ पीएस पावरले ग्राहकको दैनिक जीवनमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्ने विश्वास व्यक्त गरे।
यसका साथै यसले ७२ किलोमिटर प्रतिलिटरको माइलेज प्रदान गर्ने जनाइएको छ। यो यस सेग्मेन्टको बाइकमध्येमा उत्कृष्ट हो।