Home » » संघीय गठबन्धनको बदलिँदै आन्दोलन

संघीय गठबन्धनको बदलिँदै आन्दोलन

जेष्ठ ४, २०७३- सिंहदरबार पस्ने नाकामा दुई दिन धर्ना दिएको संघीय गठबन्धन मंगलबार बालुवाटार पुग्यो । प्रधानमन्त्री निवास घेर्न गएका प्रदर्शनकारीमा अधिकांश मधेसी महिला थिए । गठबन्धनमा आबद्ध मधेसवादी दलले आन्दोलनमा सहभागी हुन उनीहरूलाई काठमाडौं ल्याएका हुन् । छिटफुट तनाव र झडपबाहेक बालुवाटार धर्ना शान्तिपूर्ण रूपमा सकिएको थियो । 
गठबन्धनले बुधबार दिउँसो १ बजे शान्तिबाटिकामा सभा गर्ने निर्णय गरेको छ । सभालाई गठबन्धनमा आबद्ध २९ जातीय क्षेत्रीय दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनले बुधबार बिहान बैठक गरी आन्दोलनका बाँकी कार्यक्रम सार्वजनिक गर्ने नेताहरूले जानकारी दिए । आन्दोलन काठमाडौंमै केन्दि्रत गर्ने कि जिल्लामा फर्काउने भन्नेमा गठबन्धनभित्र बहस भइरहेको छ । काठमाडौं केन्दि्रत भए भित्री बस्ती लक्षित कार्यक्रम ल्याउने, नत्र जिल्ला र क्षेत्रीय सदरमुकाम केन्दि्रत कार्यक्रम तय हुने एक नेताले जनाए ।   
गठबन्धनले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो आन्दोलनको 'गम्भीरता बुझाउन' निवास घेर्न जाने निर्णय गरेको थियो । गठबन्धनले दुई साताअघि ओलीलाई २६ बुँदे मागपत्र बुझाइसकेको छ । उक्त मागपत्र मधेसी मोर्चाले विगतमा राख्दै आएका ११ बुँदे मागसहित परिमार्जित छ । 
प्रधानमन्त्री ओलीले वैशाख २४ गते संसद्मा सम्बोधन गर्दै वार्ता सरकारको प्राथमिकतामा रहेको बताएका थिए । त्यसको पर्सिपल्ट सरकारी वार्ता टोली संयोजक तथा उपप्रधानमन्त्री कमल थापाले गठबन्धनको घटक मधेसी मोर्चालाई वार्तामा आउन पत्र पठाएका थिए । वैशाख ३० गते त्यसको जवाफ दिँदै मोर्चाआबद्ध ७ मधेसवादी दलले तत्काल वार्ताको वातावरण बनिनसकेको जवाफ पठाएका थिए ।
माघ ४ गतेयता ठूला तीन दल र आन्दोलनकारीबीच कुनै वार्ता भएको छैन । त्यसैबीच आन्दोलनकारीका तर्फबाट मधेसी मोर्चाका शीर्ष नेताले फागुन २८ गते प्रधानमन्त्री ओलीलाई भेटेर माग सम्बोधन गर्न एक महिने अल्टिमेटम दिएका थिए । त्यसअघि आन्दोलनकारी मधेसी मोर्चाको माग सम्बोधन गर्न माघ ९ गते संविधानको पहिलो संशोधन भएको थियो । फागुन ६ गते मन्त्रिपरिषद्ले थापाकै नेतृत्वमा ११ सदस्यीय सीमांकन पुनरावलोकन तथा परिमार्जनसम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्र घोषणा गरेको थियो । तर त्यसमा थापाबाहेक अरू सदस्य छानिएनन् । तर हालसम्म त्यसले कुनै काम अघि बढाएको छैन ।  
यसबीच फागुनमा मधेसी मोर्चासहितका जातीय क्षेत्रीय दल संघीय गठबन्धनमार्फत आन्दोलन अघि बढाउने निर्णयमा पुगेका हुन् । पहिलो चरणमा जिल्ला केन्दि्रत आन्दोलन गरेपछि शनिबार उनीहरू काठमाडौं आएका हुन् । शनिबारदेखि मंगलबारसम्मको राजधानी केन्दि्रत प्रदर्शन सामान्य झडपबीच शान्तिपूर्ण रह्यो । जिल्लाबाट आएका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले काठमाडौं आउन अवरोध गरेको भन्दै गठबन्धनले आक्रोश व्यक्त गरेको छ । 'सिंहदरबार घेराउमा सहभागी हुन आइरहेका हजारौं नेता, कार्यकर्ता तथा सहभागी चढेका यातायात साधन प्रहरी लगाई ७-८ घण्टासम्म एकै ठाउँमा रोकिराख्ने, अनावश्यक प्रश्न गरी हैरान गर्ने, झन्डा ब्यानर खोस्ने कार्य सरकारले गरेको छ,' गठबन्धनका प्रवक्ता परशुराम तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरकारको कायरतापूर्ण जनविरोधी एवं नागरिक अधिकारविरोधी कार्यको संघीय गठबन्धन भत्र्सना गर्दछ ।' 
प्रदर्शनकारीको संख्या उल्लेख्य नभए पनि सांस्कृतिक झाँकी र जातीय पहिचान झल्कने पहिरन, संगीत र नृत्य प्रस्तुतिका कारण माहोल भने रंगीन थियो । मंगलबारको बालुवाटार प्रदर्शनमा पनि त्यसले निरन्तरता पाएको थियो । 'देशभित्रका सबैखाले पहिचान झल्कने अनुहार यहाँ छन्,' राष्ट्रिय मधेस समाजवादी पार्टी अध्यक्ष शरतसिंह भण्डारीले भने, 'हामी यसलाई निरन्तरता दिँदै जानेछौं ।'
संघीय प्रदेशको सीमांकन र संविधानप्रति असहमति राख्दै गत साउनदेखि चलेको मधेस आन्दोलन असोज पहिलो साता नाकाबन्दीमा बदलिएको थियो । नेपाल-भारत सीमानाका धर्नाले आन्दोलन विवादित बनेको ठहरका पुगेका मधेसी मोर्चाभित्रका केही नेताले पहाडी जनजातिसँग मिलेर संघीय गठबन्धनलाई अघि बढाएका थिए । २९ जातीय क्ष्ाेत्रीय दलको यो गठबन्धनको काठमाडौं केन्दि्रत आन्दोलन लामो अवधि नजाने एक उच्च नेताले बताए । 'आवास, खानपान आदिका कारण यहाँ लामो आन्दोलन गर्न सम्भव नै छैन, यो त काठमाडौंको सत्तालाई एउटा सन्देश मात्रै हो,' ती नेताले भने, 'हामीबीचमै आन्तरिक विषयहरू बसेर मिलाउनुपर्ने अवस्था छ ।' आन्दोलनप्रति नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ऐक्यबद्धता जनाएका छन् । भट्टराईले विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनकारीको असन्तुष्टि सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन माग गरेका छन् ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf