काठमाडौंः अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्काे ४० मेगावाट गरी थप ८० मेगावाट बिजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा लोडसेडिङ नहुने सम्भावना देखिएको छ । पुस महिनाभर लोडसेडिङ गर्नु नपर्नेमा विद्युत् प्राधिकरण ढुक्क छ भने त्यसपछिका दिनमा सकेसम्म लोडसेडिङ नहुने गरी व्यवस्थापन गर्न लागिएको छ ।
भारतले पुस १७ देखि नेपाललाई ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय सीमापार प्रसारण लाइनबाट थप ४० मेगावाट बिजुली दिने सम्झौता गरेपछि हिउँदयामको विद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणको विद्युत् व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए । हाल उक्त प्रसारण लाइनबाट ८० मेगावाट बिजुली आयात भइरहेको छ ।
नयाँदिल्लीमा भारतीय कम्पनी एनभीभीएन (एनटीपीसी विद्युत् व्यापार निगम) र विद्युत् प्राधिकरणका पदाधिकारीबीच बिहीबार विद्युत् खरिद सम्झौता भएपछि नेपालले ४० मेगावाट थप बिजुली पाउने भएको हो । एनभीभीएन भारतको नेसनल थर्मल पावर कर्पाेरेसनको सहायक कम्पनी हो । दुई देशबीच विद्युत् व्यापारका लागि भारतले उक्त कम्पनीलाई अख्तियारी दिएको छ ।
नेपालले यसअघि सोही प्रसारण लाइनबाट आयात गरिरहेको साविककै विद्युत् खरिद दर प्रतियुनिट भारु ३.६० (पाँच रुपैयाँ ७६ पैसा) मुजफ्फपुर बिन्दुमा कायम रहने गरी सम्झौता भएको अधिकारीले बताए ।
सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरे ।
सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गले हस्ताक्षर गरे ।
प्राधिकरण प्रवक्तासमेत रहेका अधिकारीले जनवरी १ (पुस १७) देखि मेसम्म (२०७४ मध्य जेठसम्म) सम्झौता लागू हुने बताए । यो बिजुली प्राप्त भएपछि हेटौंडा क्षेत्रसम्म भारतीय बिजुली प्रसारण हुनेछ । नेपाल र भारतबीच भोल्टेज (विद्युत् स्तर) र परिमाण फरक–फरक रहेकाले नेपालकै ग्रिडबाट सञ्चालन हुन सकेको छैन ।
भारतबाट आएको बिजुलीलाई नेपालको ग्रिडबाट अलग गरेर वितरण गर्नुपर्ने बाध्यता रहेकाले उक्त बिजुली काठमाडौंसम्म आइपुग्दैन । साबिकमा आयात भइरहेको ८० मेगावाट बिजुली जनकपुरदेखि पूर्व लगिएको छ भने जनवरी १ मा आउने बिजुलीलाई हेटौंडासम्म ल्याइने प्रवक्ता अधिकारीले बताए ।
उनका अनुसार हेटौंडासम्म भारतीय बिजुलीले धानेपछि हेटौंडा र पूर्व क्षेत्रमा प्राधिकरणको आफ्नै प्रणालीको बिजुली दिनु पर्दैन र त्यो बिजुली आवश्यक अन्य ठाउँमा प्रसारण गरिनेछ । ‘थप बिजुलीले यहाँको लोडसेडिङ बढ्न नदिन मद्दत गर्नेछ', अधिकारीले शुक्रबार अन्नपूर्णसँग भने, ‘ढल्केबरबाट आयातित १२० मेगावाटै बिजुली काठमाडौं आएसरह भयो ।'
प्राधिकरण र एनभीभीएनसँगको सम्झौताअनुसार नेपाललाई माघ–फागुनमा थप बिजुली आवश्यक भए भारतले संरचनागत क्षमता र माग आपूर्ति परिदृश्यका आधारमा अर्को ४० मेगावाट बिजुली दिनेछ । ‘यसरी भारतबाट १६० मेगावाट बिजुली ल्याउने सुनिश्चित भएको छ,' अधिकारीले भने ।
नेपालले यसअघि ढल्केबर सबस्टेसन निर्माण भइनसकेको र यो पूरा हुन केही महिना थप लाग्ने सन्दर्भमा मुजफ्फपुरमा रहेको १०० एमभीएको ट्रान्सफरमर जडान गरी मौजुदा ट्रान्सफरमरबाटै समानान्तर सञ्चालन गरी १३२ केभी प्रसारण लाइनमार्फत नेपाललाई बिजुली दिन भारतको पावर ग्रिड कर्पोरेसनलाई अनुरोध गरेको थियो । नेपालको अनुरोध स्वीकार गर्दै पावर ग्रिडले अर्को ट्रान्सफरमर जडान गरेपछि पूरक विद्युत् खरिद सम्झौताका लागि नेपाललाई निमन्त्रणा गरेको हो ।
प्रवक्ता अधिकारीले भारतीय बिजुली र स्वदेशको आन्तरिक उत्पादन दुवैबाट पुसभर लोडसेडिङ नहुनेतर्पm कटिबद्ध रहेको बताए । ‘हामीले सकेसम्म पुस महिनाभित्र उज्यालो बाँड्नेछौं,' उनले भने, ‘त्यसपछि पनि लोडसेडिङ हुन नदिन भरमग्दुर प्रयत्न रहनेछ ।'
शुक्रबार नेपालको विद्युत् प्रणालीमा उच्चतम माग एक हजार दुई सय ७५ देखि एक हजार दुई सय ८० मेगावाट रहेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले बताए । उनका अनुसार प्राधिकरणका विद्युत्गृहबाट तीन सय ६७ मेगावाट, स्वदेशका निजी क्षेत्रबाट दुई सय चार मेगावाट र भारतबाट तीन सय एक मेगावाट बिजुली आयात भइरहेको छ ।
शुक्रबार साँझ करिब चार सय मेगावाट बराबरको लोडसेडिङ भइरहेको उनले बताए । साँझपख उच्चतम खपत हुने अवधि (पिक आवर) मा उद्योगलाई बिजुली कटौती गरिने नीतिअन्तर्गत उद्योगले खपत गर्ने तीन सय मेगावाट बिजुली सर्वसाधारणलाई वितरण गरिएको श्रेष्ठले जानकारी दिए । बाँकी सय मेगावाट मुलुकको पूर्व, मध्य र पश्चिम गरी विभिन्न भागमा करिब दुई घन्टा लोडसेडिङ गरेर व्यवस्थापन गरिएको छ ।