रुपन्देही, ३ जेठ (ओएनएस) : नेपाल आयल निगमको भलवारी डिपोबाट पेट्रोलीय पदार्थ लिन भारतको बैतलपुर जानको लागि अनुमती पत्र (पिडीओ) नलिएका र खाली भनिएका ट्याकंरमा मट्टीतेल भेटिएको छ ।
डिजेल चोरी गर्दागर्दै गत वैसाख १६ मा रुपन्देहीको पडसरीबाट रङ्गेहात पक्राउ परेका लु १ खा ८२८२ र लु १ ख २७९२ नम्बरको ट्याङकरमा मट्टीतेल भेटिएको हो । यी ट्याङकरहरुले पेट्रोलीयम पदार्थ ढुवानीको लागि निगमबाट दिइने ढुवानी अनुमती पत्र लिएका छैनन् ।
पक्राउ गरिएका १९ ट्याङकरहरुको तेल नापजाँच गर्ने क्रममा यी दुई ट्याकंरमा मट्टीतेल भेटिएको आयल निगम भलवारी शाखाका सहायक प्रबन्धक दिपक प्रसाद घिमिरेले बताए ।
पक्राउपछि अञ्चल प्रहरी कार्यालयमा राखिएका यी ट्याकंरहरु शुक्रवार प्रहरी, जिल्ला प्रशासन, बाणिज्य, नापतौल तथा गुणस्तर प्रयोगशाला, नेपाल आयल निगमका कर्मचारी, उद्योग वाणिज्य संघ सिद्धार्थनगरका प्रतिनिधि सहितको टोलीले तेलको नापजाँच गरेको थियो ।
खाली भनीएको ट्याङकरमा मट्टीतेल भेटीनु शंकास्पद हुने भन्दै पेट्रोलमा मिसावट गरेकोमा कडाभन्दा कडा कारबाही हुने एक कर्मचारीले बताए ।
पक्राउ परेका १९ ट्याङकर मध्ये ४ बटा खाली भेटिए । अन्य १३ वटाको प्रारम्भीक गुणस्तर परीक्षण पछि थप अनुसन्धानको लागि केन्द्रीय गुणस्तर विभागमा नमुना पठाइएको छ । रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक बिक्रम सिंह थापाले शुक्रबारबाट सुरु भएको मापन तथा नाप जाँचको प्रारम्भिकमै कैफियत देखिसकेको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाए ।
प्रहरीले ट्याङकरसहित चालक र सहचालक लगायत २२ जना, नेपाल आयल निगमको क्षेत्रीय प्रबन्धक नागेन्द्र कुर्मीसहित अन्य दुई अधिकृत, पश्चिमाञ्चल ट्याङकर व्यवसायी संघका पूर्वअध्यक्ष हरी बहादुर कुँवरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ । रुपन्देही प्रहरीले वैशाख १९ गते उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य चोपनारायण श्रेष्ठसहित १६ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।