
जुम्ला, भदौ १९ – जिल्ला कृषि विकास कार्यालय जुम्लाले यस वर्षमा अर्गानिक स्याउ बिक्री वितरणबाट जुम्लालाई साढे १६ करोड रुपैयाँ आम्दानी हुने लक्ष्य प्रक्षेपण गरेको छ । गत आवमा जिल्ला कृषि विकास कार्यालयले करिब ४२ सय मेट्रिक टन स्याउबाट जिल्लाले लगभग रु १२ करोड आम्दानी गर्ने लक्ष्य राखे पनि काँचो स्याउ निर्यात भएको र त्यसले गुणस्तर कायम गर्न नसकेपछि अनुमानअनुसारको आम्दानी हुन सकेको थिएन । यस वर्ष भने भदौ १५ गतेभन्दा पछि पाकेको अवस्थामा किसानले स्याउ टिपेर प्रतिकेजी रु ३५ को दरले किनेको वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिए । अधिकृत गैरेका अनुसार यस वर्ष दुई हजार ७३० हेक्टरमा भएको स्याउमा सात हेक्टर क्षेत्रफलमा फलेको स्याउबाट नै ५५ सय मेट्रिक टन उत्पादन भएको हो । यसो हुनुमा स्याउको काँटछाँट तथा व्यवस्थापन राम्रो भएको कार्यालयले बताएको छ । स्याउ उत्पादन राम्रो भएपछि जुम्लाका किसानका अनुहारमा पनि चमक आएको छ र व्यापारीहरू घरमा गएर किन्न थालेपछि उनीहरू अहिले आम्दानी राम्रै हुने कुरामा मक्ख छन् । जुम्लाको स्याउ यतिबेला मुलुकका पोखरा, बुटवल, विराटनगर, नेपालगन्ज, सुर्खेत, कैलाली, कञ्चनपुर पुगेको अधिकृत गैरेले अवगत गराउनुभयो । जुम्लामा रेड डेलिसियस राम्रोसँग पाकेको छ भने जोनाथन, गोल्डेन जातको स्याउ अलि नपाकेको कृषि विकास कार्यालयले जनाएको छ । स्याउ ग्रेडिङका सवालमा जिल्ला सहकारी तथा अर्गानिक समूह र कृषि कार्यालय जुम्लाको बैठक बसे पनि जुम्लामा बिजुलीको भोल्टेज नपुग्दा सो काम हुन सकेको छैन तर पनि जेनेरेटरको व्यवस्था गरेर भए पनि ग्रेडिङ गरेर पठाउने योजना रहेको बताइएको छ ।