
नयाँ दिल्ली, भदौ २७ – दक्षिण एसियाका करिब आधा बालिकाको १८ वर्ष उमेर नपुग्दै विवाह हुने गरेको संयुक्त राष्ट्र सङ्घको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यसले यस क्षेत्रमा महिला तथा पुरुषबीच असमानतालाई अझै उजागर गर्ने बताइएको छ । यो प्रतिवेदन संयुक्त राष्ट्र सङ्घको बालबालिकासँग सम्बन्धित संस्था युनिसेफले प्रकाशन गरेको हो । प्रतिवेदनमा यस क्षेत्रमा अझै पनि प्रत्येक वर्ष अपर्याप्त स्वास्थ्य व्यवस्थाका कारण दश लाखभन्दा बढी नवजात शिशुको मृत्यु हुने गरेको उल्लेख गरिएको छ । दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक करिन हलसोफले दक्षिण एसिया गर्भवती हुन तथा सन्तान जन्म दिन विश्वमा सबैभन्दा जोखिमयुक्त स्थानमध्ये एक भएको बताए । उनले यो क्षेत्र विश्वमा शिशुको जन्ममा दोस्रो सबैभन्दा बढी दरमा आमाको मृत्यु हुने स्थान भएको बताए । उनले यस क्षेत्रमा निकै बढी बालबालिकाको विवाह हुने गरेको र यहाँ धेरै बालिका शिशुले जन्मनै नपाउने गरेको उल्लेख गरे । युनिसेफले दक्षिण एसिया र विशेष गरी भारतमा जन्मने शिशुको लिङ्ग छनौट गर्ने प्रक्रिया अझै व्यापक रहेको उल्लेख गरेको छ । यहाँ नयाँ जन्मने शिशु बालिका भएमा आमाबाबुले गर्भपतन गर्ने गरेको देखिएको छ । प्रतिवेदनमा जन्मका लागि लिङ्गको छनौट गर्ने कुराले यस क्षेत्रमा बालक शिशु रुचाइने र महिला तथा बालिकामाथि भेदभाव गर्ने व्यवहार यहाँको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षमा गहिरो रूपमा स्थापित भएको देखाउने पनि उल्लेख गरिएको छ । प्रतिवेदनमा यस्तो अभ्यासले अन्त्यमा बालिकालाई बेचबिखन र बाध्यकारी विवाहमा लगाउने गरेको देखिएका उल्लेख गरिएको छ । प्रतिवेदनमा यस क्षेत्रमा प्रत्येक पाँच बालिकामा एक बालिकाको १५ वर्ष नपुग्दै विवाह हुने गरेको र यो विश्वमा सबैभन्दा अधिक दरमा बालविवाह भएको देखिएको उल्लेख गरिएको छ । बङ्गलादेशमा बालबिवाह सबैभन्दा अधिक दरमा भएको देखिएको छ । यहाँ प्रत्येक तीन बालिकामध्ये दुईको विवाह उनीहरू वयष्क नहुँदै हुने गरेको बताइएको छ । यसले उनीहरूमाथि यौनजन्य दुव्र्यवहार र घरेलु हिंसा गराउने जोखिम बढाउने बताइएको छ । प्रतिवेदनमा दक्षिण एसियामा बालबालिकामा नराम्रोसँग कुपोषणको प्रभाव परेको पनि उल्लेख गरिएको छ । यहाँका पाँच वर्ष मुनिका ४० प्रतिशत बालबालिकामा कम शारीरिक वृद्धि देखिएको छ । सन् १९९० मा ६० प्रतिशत बालबालिकामा सुस्त शारीरिक वृद्धि देखिएकोमा हाल यो ४० प्रतिशतमा झरेको देखिएको छ । यस अवस्थाले बालबालिकामा पछिसम्म प्रभाव पार्ने गर्छ भने विश्वमा प्रति वर्ष १० लाख बालबालिकाको यसै कारण मृत्यु हुने गरेको देखिएको छ । यस विषयमा क्षेत्रगत रूपमा निकै भिन्नता देखिएको छ । भारतमा पाँच वर्ष मुनि करिब आधा अर्थात छ करोड बालबालिकाको शारीरिक वृद्धि सुस्त देखिएको छ । यो प्रतिवेदनमा बालअधिकार महासन्धि लागू भएको २५ औँ वार्षिकोत्सवमा प्रकाशन भएको हो । प्रतिवेदनमा पछिल्लो २५ वर्षमा दक्षिण एसियाका बालबालिकाको जीवनमा महत्वपूर्ण सुधार देखिएको उल्लेख गरिएको छ । यस क्षेत्रमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, मालद्वीप, नेपाल, पाकिस्तान तथा श्रीलङ्का रहेका छन् । प्रतिवेदनमा यहाँ निरन्तर कायम लैङ्गिक भेदभावले प्रगतिलाई कमजोर बनाएको उल्लेख गरिएको छ । प्रतिवेदनमा अन्य क्षेत्रको तुलनामा यहाँका सरकारले स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षामा कम खर्च गरेको पनि उल्लेख गरिएको छ ।