लमजुङ, २६ चैत । मध्यक्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरले अगाडि बढाएको भर्ना प्रक्रिया रद्द भएपछि विवादमा आएका नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेलले यसविषयमा आफूलाई भने केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
खरेल प्रमुख रहेको प्रहरी तालिम केन्द्र भरतपुरले लिएको लिखित परीक्षामा उतिर्ण भएकाहरुलाई जथाभावी नम्बर दिइएको भन्दै लोकसेवा आयोगले मंगलबार भर्ना प्रक्रिया रद्द गरेर संशोधन गर्न प्रहरी हेडक्वाटरलाई निर्देशन दिएको थियो ।
प्रहरीका चर्चित एसएसपीले गरेको भर्ना नै रद्द भएपछि खरेलको कार्यशैलीमाथि समेत प्रश्न उठेको थियो । तर, खरेलले भने भर्ना प्रक्रिया रद्द भएको बारेमा कुनै जानकारी नभएको भन्दै पन्छिन खोजे । ‘लोकसेवाले भर्ना रद्द गरेको कुरा मेरो जानकारीमा छैन्, हेडक्र्वाटर गएर बुझ्छु, अनि सबै कुरा सार्वजनिक गर्नेछु, नबुझी बोल्न मिल्दैन्।’ उनले भने ।
उनले भर्ना प्रक्रियाको बारेमा दुईचार दिनभित्रै काठमाडौं आएर हेडक्वार्टरबाट जानकारी लिने बताए । ‘भर्ना प्रक्रिया रद्द किन र कसरी भयो, त्यो म हेडक्वार्टरलाई सोध्छु,।’– उनले भने ।
प्रहरी संगठन मर्यादाविपरित बोलेर विवाद र चर्चामा आएका एसएसपी खरेलले हेडक्वाटरको निर्देशनमा भर्नाका विषयमा बोल्न नचाहेको प्रहरी हेडक्वाटर स्रोतले जनायो । ‘पहिले पनि विवादमा आउनुभएको छ, यो विषय झन गम्भीर छ आइजीपी ‘साब’ले मुख नखोल्नु भन्नुभा’छ’ हेडक्वाटर स्रोत भन्यो । खरेलको प्रतिक्रिया अनुसार हेडक्र्वाटर पुगेपछि मात्रै भर्ना प्रक्रिया किन रद्द गरियो भन्ने कुरा पत्ता लाग्ने छ । खरेल आइतबार हेडक्वार्टर आउँदै छन् ।
यो पनि पढ्नुस
रमेश खरेललाई कारबाही ?यो पनि पढ्नुस